गण्डकी, असोज नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
“नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको छ”, सचिव दवाडीले भन्नुभयो, “प्रतिनिधि छनोटसँगै अरु व्यवस्थापकीय तयारीका काममा लागिरेहका छौँ । प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गर्नुभएको हो ।
विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ ।
केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ । अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताउनुभयो ।