काठमाडौँ, असोज । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले पार्टीले सत्तालाई मात्रै प्राथमिकता दिएर थप जनविश्वास गुमाउन नहुने अडान लिएका छन् । उनीहरूले सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूलाई सरकार र गठबन्धन महत्वपूर्ण हो कि जनविश्वास भन्ने प्रश्नसमेत गरे ।
गठबन्धन सरकारमा सामेल हुने, तर जनविश्वास बढाउने गरी काम गर्न नसक्ने अवस्था रहिरहने हो भने त्यसबारे समीक्षा गरेर सरकारबाट बाहिरिनेबारे छलफल गर्नुपर्ने उनीहरूको भनाइ छ ।
आइतबारको बैठकमा केन्द्रीय कार्यसमितिका ३२ जना सदस्यहरूले धारणा राखेकामा धेरैजसोले सरकारले जनतामाझ आशा र विश्वास जगाउने गरी काम गर्न नसकेको भन्दै आलोचना गरे ।
केन्द्रीय सदस्य राजीव ढुंगानाले सरकारमा रहेर कांग्रेसलाई ‘जस’ भन्दा धेरै ‘अपजस’ आइरहेको भन्दै सरकारका बारेमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताए ।
‘हुन त यो सरकारको मूल नेतृत्वकर्ता नै कांग्रेस हो । तर सरकारको नेतृत्व कांग्रेसको छैन । मान्छेले कांग्रेससँग आशा राखेका छन् । तर सरकारले के गरिरहेको छ ? अत्तोपत्तो छैन,’ ढुंगानाले भने, ‘सरकारका विषयमा हामीले समीक्षा गर्न आवश्यक छ ।’
उनले सरकारका राम्रा कामको जस जत्ति प्रधानमन्त्री र उनको दलले लिने, तर अपजस जत्ति कांग्रेसको भाग आइपर्ने अवस्था रहिरहनु राम्रो नभएको बताए ।
‘चाडबाडको मुखमा महँगी बढेको बढ्यै छ, उपभोक्ताले सरकार भेटेका छैनन् । सरकारले भ्रष्टाचारको एकरदुई वटा फाइल खोल्यो, तर जनताले भ्रष्टाचार घटेको वा अन्त्य भएको भन्ने आभास पाएका छैनन्,’ उनले भने, ‘शान्ति सुरक्षा अस्तव्यस्त बनेको छ ।
हाम्रै पार्टीका नेता र सांसदमाथि सुरक्षा थ्रेट छ । अर्कोतिर बैंक मोटाएको मोटायै हुने, तर बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरू सटर बन्द गरेर विदेशतिर हिँड्नुपर्ने स्थिति छ । यस्तोमा हामी कहिलेसम्म रमिते बन्ने ?’
अर्का केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलले गठबन्धनको सरकार जोगाउनुलाई मात्रै सबै कुरा ठान्नु गलत हुने बताए । ‘सरकारमा बसेपछि कि जनविश्वास बढाउने गरी डेलिभरी दिनुपर्छ, नभए गठबन्धन जोगाउनुमात्रै सबै कुरा होइन,’ पौडेलले अघि भने, ‘सरकारमा रहेर कांग्रेसकै मन्त्रीहरूले पनि काम गर्न सक्नुभएन ।
मन्त्रीहरूले एउटा पनि त्यस्तो काम गर्नुभएको छैन, जुन विषयलाई हामीले जनताका माझ गएर सरकारले यस्तो गर्यो भनेर प्रचार गर्न सकौँ ।’
उनले पार्टीकै मन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भए पनि मुलुकको अर्थतन्त्र डामाडोल हुँदा केही गर्न नसकेको भन्दै आलोचना गरे ।
‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आएन । यस्तो बेला हामीले कसलाई प्रश्न गर्ने हो ? कि जवाफ दिनुपर्ने हो ? अर्थतन्त्र डामाडोल भएको छ, सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने, ‘साना व्यवसायीहरू सटर बन्द गरेर हिँड्न बाध्य छन् ।
सभापतिज्यू, बैंकमा पैसा नभएर लगानी गर्न नपाउनुभन्दा बैंकमा पैसा थन्किएर लगानी गर्न नसक्नु ठूलो समस्या हो ।’ केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कांग्रेस सरकारमा भए पनि अहिले इतिहासकै संकटको मोडमा रहेको दाबी गरे ।
‘देशको ठूलो दल छ, पार्टी सरकारमा पनि छ, तर अहिले यस्तो अवस्था छ कि हामीले आफूले गलत नगरेर माओवादीले गलत गर्यो भने पनि अभिभारा हामीले लिनुपर्ने अवस्था छ,’ उनले भने, ‘यस्तो बेला हामीले सरकारलाई सचेत गराउन सक्नुपर्छ । सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई आवश्यक निर्देशन र मार्गदर्शन गर्न सक्नुपर्छ ।’
केन्द्रीय सदस्य रामजनम चौधरीले सरकारले समयमा अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै पार्टीले अर्थमन्त्रीलाई विशेष निर्देशन दिनुपर्ने माग गरे ।
‘पार्टी सरकारमा छ, गठबन्धन छ, प्रदेशमा पनि सरकारमा छ । तर कार्यकर्ताहरूमा उत्साह छैन,’ उनले भने, ‘पार्टीकै कार्यकर्ताहरूमा पनि सरकारले गरिरहेको कामले उत्साह थपेको छैन । सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सकेन ।’
केन्द्रीय सदस्य रंगमति शाहीले पार्टीका मन्त्री, मुख्यमन्त्री र जनप्रतिनिधिहरूले जनताको भावनाबमोजिम काम गर्न नसकेको बताइन् । ‘पार्टी सरकारमा छ, तर हामीले नै मन्त्री, मुख्यमन्त्रीहरूलाई भेट्न पाउँदैनौँ ।
जनताका समस्या बोकेर हिड्ने हामीलाई नभेटेर मन्त्री, मुख्यमन्त्रीहरू केमा व्यस्त हुनुहुन्छ ?,’ उनले प्रश्न गरिन् । उनले जिल्ला–जिल्लामा जनप्रतिनिधि र पार्टीका बीच खाडल रहेको भन्दै त्यसकाले पार्टीलाई नोक्सानमात्रै भइरहेको दाबी गरिन् ।
अर्का केन्द्रीय सदस्य हरिशरण नेपालीले पार्टी तीनवटै तहमा पहिलो दल बनेर गठबन्धन सरकारमा भए पनि त्यसबाट जनविश्वास बढाउने गरी नतिजा दिन नसकेको बताए ।
‘पार्टी सरकारमा हुँदा घोषणापत्र बमोजिम काम हुनुपर्ने हो । त्यसले जनतामा विश्वास बढ्नुपर्ने हो,’ उनले भने, ‘तर हामीले अभियानमा गाउँ–गाउँ पुग्दा देखेर आयौँ, पार्टी र जनप्रतिनिधिका बीचमा ठूलो खाडल छ । जनताले पार्टीलाई विश्वास गर्ने अवस्था बढेको छैन ।’
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीले अहिल्यैदेखि सकारात्मक सोच बढाएर मतदातासँगको दुरी नघटाउने हो भने अर्को चुनावमा झन् ठूलो नोक्सानी बेहोर्नुपर्ने बताए । समाजमा विकसित नेगेटिभ एट्टिच्युडका कारण दोष जति सबै कांग्रेसले झेल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।
‘अहिले जताततै आममान्छे निराश छ, कतै कोही उत्साहित छैन । किन यस्तो भइरहेको छ रु यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ उनले अघि भने, ‘नेगेटिभ एट्टिच्युड जुन चरम विन्दुमा पुगेको छ, यसलाई हामीले कसरी सकारात्मक बनाएर लैजाने ? कसरी आशा जगाउने भनेर गम्भीर हुनुपर्ने बेला आएको छ । तीनवटै तहमा पार्टी सरकारमा छ, सरकारमार्फत परिणाम देखिने गरी काम गर्नुपर्नेछ ।’
नेताहरूले आगामी महासमिति बैठकबाट पार्टीको सांगठनिक र आर्थिक दस्तावेजमात्रै पारित गरेर छुट पाइने अवस्था नभएको भन्दै पार्टीले आगामी दश वर्षका लागि विकासको प्रष्ट खाका सार्वजनिक गरेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
आइतबारको बैठकमा केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागााइ, रमा कोइराला (पौडेल), राजेन्द्रकुमार केसी, विनोदकुमार चौधरी, सरस्वती अर्याल तिवारी, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले धारणा राखेका थिए ।
गत बिहीबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।