काठमाडौँ, असोज । बिहीबारदेखि बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टीको आगामी महासमिति बैठक मधेश प्रदेशमा राख्न प्रस्ताव गरेका छन् ।
महासमिति बैठक राख्नेबारे कांग्रेसको यसअघि साउनमा बसेको बैठकबाटै आगामी मंसिर ११ देखि १३ गतेसम्म बोलाउने निर्णय गरेको छ ।
हिजोदेखि जारी केन्द्रीय कार्य समितिको बैठकमा महासमिति बैठकको तयारीबारे पनि छलफल भइरहेको एक केन्द्रिय सदस्यले जानकारी दिएका छन ।
बैठकमा महामन्त्री गगन थापाले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन सहितको प्रस्ताव पेस गरेका छन् । त्यसबारेको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले महासमिति बैठक मधेश प्रदेशमा गर्न प्रस्ताव गरेका हुन् ।
शुक्रबारको बैठकमा बोल्नेक्रममा केन्द्रीय सदस्य मधु आचार्यले महासमिति बैठक मधेश प्रदेशमा गर्नु उपयुक्त हुने बताए । यो पार्टीको महाधिवेशनपछिको अर्को महत्वपूर्ण सभा हो ।
यो पार्टी जीवनका लागि मात्रै होइन, अहिलेको देशको परिस्थितिका हिसाबले पनि निकै महत्वपूर्ण छ,' उनले भने, 'त्यसकारण महासमिति बैठक ग्राउन्डमा गर्नु राम्रो हुन्छ । मधेश कांग्रेसको उर्वर थलो हो । महासमिति बैठक मधेशमै गरौँ ।'
उनले भने, महासमिति बैठकका लागि तीन दिन कम हुने बैठकले नीति महाधिवेशनको काम पनि गर्नुपर्नेछ । त्यसैले यो तीन दिनमा सकिदैन,' उनले भने, 'त्यसकारण यसलाई कम्तीमा पनि पाँच दिनको समयावधि तोकिनुपर्छ ।'