२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस 

सभापति देउवाले  गरे  ८ जना कांग्रेसको केन्द्रीय सदस्य मनोनीत  

सभापति देउवाले  गरे  ८ जना थपे, अब १६५ सदस्यीय केन्द्रीय समिति बन्याे

बिहिवार , आश्विन ४, २०८०

काठमाडौँ, असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ८ जना नेताहरुलाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् । 

सभापति देउवाले प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र व्यवसायी अनिलकुमार रुंगटासहित ८ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका हुन् ।

भण्डारी गत महाधिवेशनमा नेता शेखर कोइराला समूहबाट उपसभापतिको उम्मेदवार थिए । देउवाले उपसभापतिकै अर्का प्रत्यासीहरु विजयकुमार गच्छदार र सुजाता कोइरालालगायतलाई महाधिवेशन लगत्तै केन्द्रीय सदस्य मनोनीत गरे पनि भण्डारीलाई भने गरेका थिएनन् । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको धारा २१ को उपधारा १० बमोजिम नेताहरुलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको जानकारी दिए ।

उनका अनुसार नेताहरु मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह र शारदा पौडेल केन्द्रीय सदस्य मनोनीत भएका छन् ।

उनीहरुमध्ये शारदा पौडेलबाहेक सबै पुरानै अनुहार हुन् । नेता विश्वकर्मा महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवार थिए भने जोशी देउवा समूहबाटै गण्डकी प्रदेश सभापतिमा पराजित भएका थिए । 

त्यस्तै, शाह लुम्बिनी प्रदेश सभापतिमा देउवा समूहबाटै उम्मेदवार बनेर पराजित भएका थिए । 

नेता कृष्णप्रसाद सिटौला निकट हुमागाईं अघिल्लो कार्यकालमा पनि केन्द्रीय सदस्य मनोनीत थिए । तर महाधिवेशनमा भने उनी पराजित भए । 

पोखराकी नेतृ शारदा पौडेल भने पहिलो पटक केन्द्रीय सदस्य बनेकी हुन् । उनी यसअघि १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी थिइन् ।

यससँगै कांग्रेस केन्द्रीय कार्यसमिति १६५ सदस्यीय बनेको छ । विधानअनुसार केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ । 

सभापति देउवाले विधानअनुसार पार्टीको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष समेत मनोनीत गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार