काठमाडौँ, भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको विचारलाई मूर्ति झैं पूजा गर्ने कुरा बीपी माथिकै ठूलो अन्याय भएको बताएका छन् ।
शनिबार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको नेता थापाको भनाइ थियो ।
यस क्रममा उनले ' महामानव' भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरे जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हुने बताएका थिए ।
बीपीले आफूलाई मानव झैं व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको पनि महामन्त्री थापाले स्मरण गराएका थिए । तर बीपीले भनेको निष्ठा छोडेर 'महामानव' बनाउनु बीपीमाथिको अन्याय भएको उनको तर्क थियो ।
यसको प्रायश्चितमा कांग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बीपी महोत्सव आयोजना गरेर बुझाएको पनि उनले बताएका थिए ‘महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ ।
महामानव भनेर बीपीको विचारमा छलफल नै गर्न नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेजस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हो । बीपी मान्छे हो, मान्छेभित्रका कुरा हामीले बुझ्नुपर्छ । बीपीले म मान्छे हुँ भनिरहनुभएको छ ।
मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छेभन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो ।
त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ । यसको प्रयास यस पटक नेपाली कांग्रेसको प्राङ्गणमा बीपी महोत्सव भनेर छलफल गरेका छौं,’ महामन्त्री थापाले भने ।