काठमाडौँ, भदौ । सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा केही मान्छेहरू विक्षिप्त भएको पनि बताएका छन ।
गोरखाको भच्चेकमा योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको कार्यक्रमलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, सुशासनको पक्षमा सरकारले अभियान सञ्चालन गरेको छ ।
जनतालाई राहत दिने र मुलुकमा सुशासन कायम गर्ने अभियानमा सरकार रहेको उनको भनाइ थियो । म तपाईंहरूको मतबाट निर्वाचित भएर गएपछि धेरै उतार चढाव सहित प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर प्राप्त भयो । यो चुनौती पनि छ, अवसर पनि छ ।
अहिले सरकारको तर्फबाट जनतालाई प्रत्यक्ष रूपले राहत दिने काम सुरु गरिएको छ,ु प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, 'सरकारको तर्फबाट सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्ध ठूलो अभियान नै छेडिएको छ ।'
'यसले एकथरी मान्छेहरूलाई विक्षिप्त बनाएको छ भने जनतालाई यो हाम्रो सरकार, जनताको सरकार हो भन्ने बनाएको छ ।'
सरकारले मुलुकमा देखा परेको आर्थिक संकट समाधान गर्न निजी र सार्वजनिक क्षेत्रलाई परिचालन गर्ने नीति लिएको र त्यो काम आफू प्रधानमन्त्री भएदेखि नै थालिएको दाहालको भनाइ थियो । सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।
त्यस्तै, राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिविरुद्ध प्रहारको प्रयास भएको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्दै परिवर्तनका उपलब्धि बचाउनुपर्ने उनले बताए । '
अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । ठूलो त्याग, तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न पनि यो अभियान सफल पार्न जरुरी छ,' उनले भने ।
प्रधानमन्त्री दाहालले आगामी चीन भ्रमणले नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेको बताए ।