२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लगानी बोर्ड वार्षिकोत्सव

 " लगानीको सुरक्षाको प्रत्याभूति र सहजीकरण सरकारले  गर्छ "

' निजी क्षेत्र र वैदेशिक लगानीकर्ताले ढुक्क भएर लगानी गर्नुस्'  : प्रधानमन्त्री दाहाल  

शुक्रवार , भाद्र २२, २०८०

 

काठमाडौँ,  भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन । 

लगानी बोर्डको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मुलुकको विकास आवश्यकता पूर्ति गर्न लगानी चाहिने र सरकारले सबै खालका लगानीको सुरक्षा प्रत्याभूति गर्ने बताएका छन ।  

नेपालमा सार्वजनिक–निजी साझेदारी, प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको लगानी बढाउनका लागि नीति, नियम तथा कानूनमा सुधार, प्रक्रियागत सहजीकरण तथा संस्थागत क्षमता विकासका लागि सरकार तयार रहेको उनको भनाइ छ ।

“हामीले साना, मझौला, ठूला सबैखालका लगानीकर्तालाई उत्तिकै महत्त्व दिएका छौँ । लगानीको सुरक्षाको प्रत्याभूति पनि भएको छ । 

नेपालमा निजी क्षेत्रको लगानी र प्रत्यक्ष वैदेशिक लगानी बढाउनका लागि निरन्तररूपमा लागिपरेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “मुलुकभित्र लगानीको वातावरण बनाउने विषय सरकारको मुख्य प्राथमिकतामा छ । समग्र परियोजना चक्रमा सहजीकरण गर्न सरकार तयार छ ।” 

6Z5A4755.webp

लगानीका लागि नेपाल आकर्षक मुलुक हो भन्ने सन्देश विश्वभर फैलाउन आवश्यक रहेको पनि उनले बताए । 

लगानी बोर्डअन्तर्गत अघि बढिरहेका ठूला लगानीका आयोजनालाई सहजीकरण गर्न सरकार र मातहतका सबै निकाय जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । लगानी बोर्डको कार्यालयले सीमित जनशक्ति र स्रोत–साधनका बावजुद पनि महत्त्वपूर्ण काम गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

लगानी बोर्डको कार्यालयको संस्थागत क्षमता विकासका लागि पनि सरकारले पहल गर्ने उहाँले बताउनुभयो । सार्वजनिक–निजी साझेदारी ऐनले लगानी बोर्डलाई लगानी प्रवर्द्धन र सहजीकरणका लागि स्रोत केन्द्रका रूपमा स्थापना गर्ने उद्देश्य राखेको पनि उनले स्पष्ट पारे ।

नेपालले सन् २०२६ सम्ममा अल्प विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने लक्ष्य राखेको भए पनि कोभिड–१९ महामारीलगायतका कारण यी लक्ष्य प्राप्तिमा केही समस्या देखिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार