२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक

चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आक्रोश   : "  सांसदहरूले जनाए असन्तुष्टि "

बिहिवार , भाद्र २१, २०८०

 

काठमाडौँ, भदौ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युत्‌बाट घाटा बेहोरिरहेको अभिव्यक्ति दिएका थिए । 

राजदूतको उक्त अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् । 

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धबारे बोल्न नमिल्ने बताएका छन् ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी( का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले नेपालको भू(राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए । 

उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्‍याउनुपर्ने बताए ।

उनले भने‚ ‘सबै देशका राजदूतहरूले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ । यसको भू–राजनीतिक संवेदनशीलता छ । 

यो भुराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखिकन, असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई ध्यानमा राखिकन कसैले पनि आफ्ना बोली, अभिव्यक्तिलाई अगाडि सार्नुपर्दछ । 

त्यस्तो कुरामा सबैले विचार पुर्‍याऊन् । होइन भने एउटाको अभिव्यक्तिबाट अर्को फेरि प्रतिक्रिया व्यक्त गर्ने, नेपाल जटिलतामा फस्ने यो स्थिति नबनोस् भन्ने कुरामा सबैले ध्यान पुर्‍याऊन् ।’

नेकपा (एमाले) का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको बताए ।  उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताए । 

अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कूटनीतिक हिसाबले पनि बेठिक भएको उनको भनाइ थियो ।  यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउनसमेत परराष्ट्र मन्त्रालयलाई उनले आग्रह गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार