प्रतिनिधिसभा बैठक
- कानुनमन्त्री गुरुङको स्पष्टोक्ती : ' न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुन्न '
- न्याय सम्पादनको काम छिटो, छरितो बनाउन सरकार क्रियाशील
काठमाडौँ, भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबन्डामा न्यायाधीश नियुक्ति हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबन्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबीसमेत गरे ।
सर्वोच्च अदालत आफैंले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानुन र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।
'अब यो न्यायाधीश नियुक्तिको सन्दर्भमा वास्तवमा यो न्यायालयमा न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको छ । भागबन्डा हुँदैन सभामुख महोदय । '
छिटो, छरितो रूपमा न्याय निरुपणका लागि सर्वोच्च अदालत आफैंले विभिन्न प्रयासहरु गरिरहेको छ भने आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रवन्धमार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु,’ मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।