काठमाडौँ, भदौ । गणतान्त्रिक राज्य व्यवस्थामा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । उनले भने, 'राज्यप्रति नागरिकले गर्ने गुनासा तत्काल सम्बोधन हुनुपर्छ ।'
उनले थपे, 'जनताका असन्तुष्टि र गुनासो सम्बोधन तत्काल सम्बोधन गर्न नसकिए व्यवस्थाप्रति नै जनतामा निराशा छाउँछ ।'
प्रधानमन्त्री दाहालले आइतबार सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार' को सेवालाई २४ सै घन्टा सञ्चालन गर्न तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको सुरुवाती कार्यक्रममा उक्त अभिव्यक्ति दिएका हुन् ।
वर्तमान राज्य प्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा स्वाभाविक रूपमा रहेको उनको भनाइ थियो ।
जनता माझ उत्पन्न हुने गुनासो तथा जिज्ञासाको तत्काल सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने पनि उनले बताए ।
राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जानसक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रबर्द्धनको कडीको रूपमा 'हेलो सरकारलाई प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवहरूसँगको बैठकमा मैले दिशानिर्देश गरेको थिए ।
यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु,' उनले भने ।
नागरिकले राख्नेका गुनासो गम्भीरतापूर्वक सम्बोधन हुनुपर्ने दाहालको भनाइ थियो । उनले भने, 'जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ ।'