२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपाली कांग्रेस

 " कांग्रेसलाई शक्तिशाली बनाउन - ' युवा कांग्रेस' गठन आवश्यक छ "

'पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहार सिकाउने बनाउन सकिन्छ' : नेता महर

शुक्रवार , भाद्र ८, २०८०

काठमाडौँ  भदौ । नेपाली कांग्रेसलाई  दह्रिलो बनाउन युवा कांग्रेस गठनको आवश्यकता रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले  औंल्याएका छन । 

काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुण दलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखेका हुन ।  

“पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ भ्रातृ संस्था गठन गर्नुपर्छ । जुन जनताको आकर्षणको केन्द्र बन्न सकोस”, उनले भने । 

युवा कांग्रेसलाई भ्रातृ संगठनको राजनीतिबाट बाहिरिएका र विभिन्न वर्ग, पेशा र दलबाट कांग्रेसका काम गर्न चाहना राखेर नेताका लागि पाठशालाका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । 

पार्टी र सरकार सञ्चालनको सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने थलोका रुपमा युवा कांग्रेस बनाउन सकिने उनको अवधारणा छ । 

“पार्टीको महासमिति र महाधिवेशनमा पनि मैले यो मुद्दा उठाएको थिएँ । अहिले यसको सान्दर्भिकता झनै बढ्दै गएको छ । नयाँ पार्टीहरु आएका छन् । हामीले पनि नागरिकमा नयाँ आभास गराउन युवा कांग्रेस गठन गर्नुपर्छ”, उनले भने ।  

विसं २०५१ सालको मध्यावधि निर्वाचनपछि पार्टीमा संकट देखिँदा २०५४ सालमा तरुण दल ब्यूँताइएको स्मरण गर्दै नेता महरले अहिले पनि युवा कांग्रेस बनाउनु आवश्यकता भएकोमा जोड दिए ।  

“विसं २०५१ सालपछि पार्टीमा संकट देखियो । त्यसपछि तरुण दलका कारण कांग्रेसलाई बलियो बनाउन सहयोग पुग्यो । विसं २०५६ मा कांग्रेसले बहुमत प्राप्त पनि गरेको थियो”, उनले भने, “अहिले पनि पार्टीमा संकट देखिएको छ । 

युवा कांग्रेस गठन गर्दा पार्टीलाई संकटबाट बाहिर निकाल्न मद्दत पुग्छ । यसमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गराउँदछु ।” पार्टीमा वैचारिक बहस सुस्ताएको भन्दै युवा कांग्रेसमार्फत त्यसको उठान गर्न सकिने उनको विश्वास छ । 

राजनीतिक दलका नेता कार्यकर्ताले विकास, राजनीति, समाज, अर्थतन्त्र र नैतिक अनुशासन सिक्ने तालिम केन्द्रका रुपमा युवा कांग्रेसलाई बिकास गर्न सकिने उनको भनाइ छ ।  उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका लागि पनि युवा कांग्रेस पार्टी प्रवेशको द्वार बनाउन सकिने  बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार