२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

'कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ' : पूर्व उपप्रधानमन्त्री सिंह

बिहिवार , भाद्र ७, २०८०

काठमाडौँ, भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज यहाँ आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उहाँले अब आर्थिक क्रान्ति कांग्रेसको मूल एजेण्डा हुनुपर्ने बताउनुभएको हो । 

उहाँले जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नुपर्ने बताउनुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्नसकेमात्र कांग्रेस बलियो हुने उल्लेख गर्नुभयो ।

 “कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने,” उहाँले भन्नुभयो । कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । 

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राख्नुभयो । 

उहाँले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बाँनिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेलगायतको उपस्थिति  थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार