काठमाडौँ, भदौ । कुनै 'केश' आयो कि दलका शीर्ष नेताहरु बालुवाटारमा बसेर संविधान विरोधी निर्णय गर्दै आएको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् ।
डा कोइरालाले भने, 'नेताहरुले कोठामा बसेर निरन्तर संविधान विरोधी निर्णय गर्दै अघि बढ्दा मुलुक भयावह दुर्घटनाको अवस्थामा पुग्दैछ ।'
मोरङको सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता कोइरालाले संविधानले एउटा अधिकार दिएको, तर नेताहरुले संविधानलाई आफू अनुकूल व्याख्या गरेर दुरुपयोगको प्रयास गरिरहेको बताए ।
संविधानले एउटा अधिकार दिएको छ तर नेताहरु एक ठाउँमा बस्नुहुन्छ र आफू अनुकूलका निर्णय गर्नुहुन्छ, यसरी देशलाई कहाँ पुर्याउन खोजेको हो ? नेता कोइरालाले प्रश्न गरे ।
कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रसंगमा कोइरालाले भने, 'अदालतले जे नगर्नु भन्यो शीर्ष नेताहरु बसेर फेरि त्यही गरे । संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म चल्ने हो ?'
उनले राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत बिथोलिएको बताए ।