काठमाडौँ, भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबार संसद्को अवरोध हट्ने बताएका छन् ।
शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, 'संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको छु । '
उनले भने, ' आज, शनिबार, पनि आफूले संसद् अवरोध अन्त्यका लागि पहल गर्नेछु । शनिबार साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् बैठक सुसञ्चालन हुनेमा आफू आशावादी छौँ ।'
‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरूलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार आए र उनीसँग पनि कुरा भएको छ ।
आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले संसद् अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।