२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

मंगलवार , श्रावण ३०, २०८०

 

काठमाडौँ, साउन । पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी)  क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।  चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको सो प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा थियो । 

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर लम्बाइको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । 

उक्त प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ ।  २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा  १३२ केभीमा सञ्चालनमा ल्याइने छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज भएको बताउनुभयो । 

“प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न भएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 

भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल  १३२ केभी सिङ्गल सर्किट मात्र थियो ।  उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या भएको थियो । नयाँ प्रसारण लाइन  २२० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुने छ । यस्तै, भोल्टेजमा पनि सुधार हुने छ ।

अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउन पुरानोसहित तीन वटा सर्किट भएका छन् । कूल  २२० केभीको लाइनलाई हाल  १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।  

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको दुई सय २० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन  आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौंडाबाट नयाँ बुटवल सबस्टेसम्म दुई सय २० केभी प्रसारण लाइन जोडिने छ ।  

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ ।  प्रसारण लाइनमा २४६ वटा टावर  छन् । आयोजना निर्माणका लागि  सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा  रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग २०७५ मा ठेक्का सम्झौता भएको थियो ।  

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो । 

सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको  मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण सुरु गरिएको आयोजना प्रमुख आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो । 

दुम्कीबासको  अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो । 
 
भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको  थियो ।  

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको  १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । 

भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो । 

प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौडा–भरपुर–बर्दघाट  २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । 

विसं २०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो । 

आयोजनालाई हेटौंडा–भरतपुर र भरतपुर–हेटौंडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो ।  हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि  १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार