काठमाडौँ, साउन । नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्लाई बन्धक बनाएर जनताको आवाज अवरुद्ध पारेको बताएका छन् ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसद्हरूले प्रतिपक्षीले संसद्लाई बन्धक बनाएर एकातिर जनताको आवाज अवरुद्ध पारेको र अर्कोतिर संसदीय व्यवस्थालाई नै कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए ।
प्रमुख सत्तारुढ दल भएको हिसाबले कांग्रेसले पनि संसद् सुचारू गर्न भूमिका खेल्नुपर्ने भन्दै सांसदहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् भने बैठकमा सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूको संलग्नतामाथि प्रश्न उठाउँदा प्रतिसोध राखेर सांसद सुनिल शर्मालाई अवैधानिकरुपमा गिरफ्तार गरिएको भन्दै प्रश्न उठेको छ ।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग भने, प्रतिपक्षीले संसद्लाई बन्धक बनाएर राख्न नमिल्ने निष्कर्ष छ । ‘संसद् जनताको सरोकारका विषयहरू अभिव्यक्त गर्ने थलो हो ।
संसद्लाई यसरी बन्धक बनाएर राख्न मिल्दैन, यो आपत्तिजनक कुरा हो,’ उनले भने, ‘अहिले एकातिर प्राकृतिक विपत्ति छ, अर्कोतिर अनेकौँ रोगको महामारीले नागरिक प्रताडित छन्, यो बेला संसद्लाई निरन्तर अवरुद्ध पार्ने भनेको नागरिकको आवाजलाई नै अवरुद्ध पार्नु हो ।’
बैठकमा सभापति एवम् संसदीय दलका नेता देउवाले बैठक सुरू गरेपछि सांसदहरूले धारणा राख्नेक्रम चलिरहेको छ । शुक्रबार १९ सांसदले संसद् सञ्चालन र संसदीय भूमिका, विचाराधीन विधेयकहरू र सरकारका कामकारबाहीका विषयमा धारणा राखेका थिए ।
त्यसक्रममा सांसदहरूले एमालेले विगत्देखि नै संसद्माथि आक्रमण गर्दै आएको र अहिले पनि संसदीय प्रणालीलाई नै कमजोर पार्ने गरी गतिविधि गरिरहेको भन्दै संसद्को ठूलो र प्रमुख सत्तारुढ दलको हिसावले समेत कांग्रेसले संसद् खुलाउने विषयमा अगुवाई गर्नुपर्ने बताएका छन् ।
गत २ साउनमा अवैधानिकरुपमा भित्राइएको एक क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट समातिएपछि त्यसबारे उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने भन्दै एमालेले दुई सातादेखि सदन अवरुद्ध पारेको छ ।
सो प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूकै संलग्नताको विषय उठेको भन्दै एमालेले उच्चस्तरीय छानविनको माग गरिरहेका बेला कांग्रेसले भने संविधानले व्यवस्था गरेका सरकारी निकायहरूप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको दाबी गरेको छ ।
प्रमुख सचेतक लेखकले अहिले नै सरकारका अङ्गहरूप्रति अविश्वास गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । ‘भन्सार छलेर ल्याइएको सुन समातियो । यो प्रकरणमा जो पनि संलग्न हुनसक्छन्, त्यसबारे अनुसन्धान हुनुपर्छ, तर त्यो उच्चस्तरीय छानविन समितिले मात्रै गर्न सक्छ भन्ने कुरा कसरी विश्वास गर्ने ?,’
प्रमुख सचेतक लेखकले अघि भने, ‘हामीले पटक–पटक यो विषयमा उहाँहरूसँग संवाद गरिरहेका छौँ । अहिले सो मुद्धा सीआईबीले हेरिरहेको छ । उसले आफ्नो काम गर्छ, त्यसमा संसदीय अनुगमन गरौँ ।
उच्चस्तरीय समितिभन्दा संसदीय समिति नै बरू धेरै शक्तिशाली हुन्छ । त्यसबारे संधिग्ध भए प्रधानमन्त्री, मन्त्रीहरूलाई नै पनि समितिमा बोलाएर बयान लिऔँ, आएका तथ्य प्रमाणहरू सीआईबीलाई दिएर सहयोग गरौँ भनिरहेका छौँ, तर उहाँहरूले अडान छोड्नुहुन्नँ ।’
उनले सांसद्हरूले समन्वय गरेर यथासिघ्र संसद्मा रहेको अवरोध खुलाउन नेतृत्वलाई सुझाव दिएको जानकारी दिए ।
बैठकपछि सांसद् श्याम घिमिरेले यथासक्य छिटो संसद् खुल्नुपर्ने आवाज उठेको बताए । ‘प्रतिपक्षले संसद्लाई बन्धक बनाएको छ, यसले जनताको आवाज अवरुद्ध भएको छ ।
चाँडोभन्दा चाँडो संसद् खुल्नुपर्छ भन्ने आवाज उठेको छ,’ बैठकमा सांसद्हरूले बोलेको उदृत गर्दै घिमिरेले भने ।
सांसद् प्रदिप पौडेलले दलहरूको जुँगाको लडाईले संसद् बन्धक बनेको बताए । ‘निरन्तर संसद् अवरुद्ध हुँदा आम नागरिकका बीचमा संसद्को गरिमा र मर्यादा कायम भएको छैन ।
वास्तवमा संसद् सञ्चालन दलहरूको जुँगाको लडाई बनेको छ,’ उनले भने, ‘यसले संसद्को समयमात्रै बरबाद भइरहेको छ, त्यसकारण जतिसक्दो चाँडो समझदारीको बातावरण बनाउनुको विकल्प छैन ।’
उनले सुन तस्करी प्रकरणमा कांग्रेसले निष्पक्ष छानविनकै लागि पहल गर्नुपर्ने भन्दै सांसद्हरूमात्रै हुने छानविन समितिले सीआईबीले जस्तो गहिरो अनुसन्धान समेत गर्न नसक्ने दाबी गरे ।
‘एमालेले छानविन हुनुपर्छ भरिहेको छ, हामीले पनि छानविन हुनुपर्छ, र दोषीलाई कारबाही हुनुपर्छ नै भनेका हौँ,’ उनले भने, ‘तर त्यो भनेको सीआईबीलाई हटाएर सांसदहरू भएको समितिले छानविन गरेर टुंग्याउने विषय होइन ।
बरू सीआईबीले आफ्नो छानविन गर्ने, यता संसदीय समितिले छानविनको दायरामा ल्याउनुपर्ने प्रधानमन्त्री र मन्त्रीहरूसँग वयान लिएर सीआईबीलाई नै सहयोग पुर्याउने गर्न सकिन्छ ।’
उनले एमालेले निकास खोजेर सदन खुलाउनभन्दा पनि संसद्लाई बन्धक बनाएर त्यसैलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको आरोप लगाए ।
अर्का सांसद उदय शमशेर राणाले एमालेले भने जस्तै त्रिभुवन विमानस्थलबाट भइरहेको तस्करीका विषयमा बृहत् छानविन गर्ने विज्ञसहितको उच्चस्तरीय समिति बनाउन सकिने बताए ।
‘एउटा अपराधिक मुद्धामा नेपाल प्रहरीले जस्तो अरुले छानविन गर्न सक्दैन,’ उनले भने, ‘बरू सुन तस्करी त्रिभुवन विमानस्थलबाटै किन र कसरी भइरहेको छ ? यो अहिले होइन, विगतदेखि भइरहेको छ, त्यसको बृहत् अनुसन्धानकालागि अलग्गै छानविन समिति बनाएर यसको दीर्घकालिन समाधान खोज्न सकिन्छ ।’
उनले विमानस्थलबाट तस्करी हुने गरेको कुरा पूरानो भएको दाबी गरे । ‘यो अहिले होइन, पञ्चायतदेखिको कुरा हो ।
पञ्चायत कालमा पनि यहीबाट तस्करी भएको सुनिन्छ,’ उनले भने, ‘लोकतन्त्र आएपछि ३३ किलो सुन काण्ड बाहिर आयो, तर त्यसमध्ये एक तोला सुन भेटिएको छैन । यसको जरोसम्म पुग्न विशेष अनुसन्धान अघि बढाउन सकिन्छ ।’
सांसद अर्जुननरसिंह केसीले पछिल्लो पटक बाहिर आएको सुन तस्करीसहित सबै भ्रष्टाचारका काण्डहरूको छानविनका लागि शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए ।
‘प्रतिपक्षी दलका साथीहरूले संसद्लाई अवरुद्ध पार्नुभएको छ, उहाँहरू यो एउटा प्रकरणमा छानविनको कुरा गर्नुहुन्छ, तर देशमा यति धेरै भ्रष्टाचारका कुराहरू बाहिर आएका छन् । वास्तवमा ती सबै प्रकरणको गहिरो छानविन र दोषीलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ,’ उनले भने ।
उनले बैठकमा सर्वोच्च अदालतका पूर्वन्यायधीशहरू सम्मिलित उच्चस्तरीय न्यायिक छानविन आयोग नै बनाउन प्रस्ताव गरे । ‘३३ केजी सुन काण्ड आयो, १ केजी सुन फेला परेन ।
अहिले १०० केजी समाइएको छ, तर यसको जरोसम्म पुग्ने कुरालाई डाइभर्ट गर्ने प्रयास भइरहेको देखिएको छ,’ उनले भने ।
शर्मालाई पक्राउ गर्नू अनुचित
कांग्रेस संसदीय दलको बैठकमा सांसद सुनिल शर्मालाई पक्राउ गरिएको विषयलाई लिएर सरकारको आलोचना भएको छ । सांसदहरूले कांग्रेससहित दलको गठबन्धन भएपनि साझेदार माओवादी केन्द्रले कांग्रेसप्रति पूर्वाग्रह राखेको आरोप समेत लगाएका छन् ।
प्रमुख सचेतक लेखकले सांसद शर्मालाई पक्राउ गर्नु अनुचित कार्य भएको बताए । ‘यो अनुचित छ, गम्भीर विषय पनि छ,’ उनले भने, ‘यसबारे साथीहरूले धारणा राख्नेक्रम छ, हामी अर्को बैठकपछि निष्कर्षमा पुग्छौँ ।’
शुक्रबार बोल्ने सांसदहरूले भने सांसद शर्माले सुन तस्करीमा प्रधानमन्त्री र मन्त्रीहरूसमेत संलग्न भएको पोल खोल्न थालेपछि उनीमाथि प्रतिसोध साँधिएको आरोप लगाएका छन् ।
सांसद श्याम घिमिरेले संसद् चलिरहेका बेला एउटा सांसदलाई अवैधानिक ढंगले गिरफ्तारी गरिएको भन्दै आपत्ति जनाए । ‘
एउटा सांसदलाई संसद् चलिरहेकै बेलामा गिरफ्तारी गरेर थुनामा राख्नुपर्ने अवस्था होइन, यो विल्कुल प्रतिसोधको भावले गरिएको काम हो,’ उनले भने, ‘कांग्रेससहितको सरकार छ, यसबारे गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’
अर्का सांसद अर्जुननरसिंह केसीले २७ वर्षअघि नै एउटा टुंगोमा पुगिसकेको प्रकरणमा अहिले सांसद शर्मालाई फेरि किन पक्राउ गरिएको भन्दै प्रश्न गरे ।
‘यो २७ वर्ष पूरानो कुरा रहेछ, त्यसबेलै अनुसन्धान भइसकेको रहेछ । यदि उहाँमाथि अनुसन्धान गर्नुपर्ने र दोषी नै हो भने पनि अहिलेको कारबाहीको शैली र समय ठीक छैन,’ उनले भने, ‘२७ वर्षपछि यो मुद्धा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो ? उहाँ कति दोषी हो ?
कारबाही गर्नुपर्ने अवस्था हो कि होइन ? त्यो पनि अनुसन्धानकै कुरा हो । तर अहिले उहाँलाई प्रतिसोधात्मक ढंगले यो व्यवहार गरिएको छ ।’
सांसद रामहरि खतिवडाले बैठकमा अधिकांश सांसदहरूले मन्त्रीहरूविरुद्ध बोलेकै आधारमा सांसद शर्मालाई पक्राउ गरिएको भन्दै त्यस्तो गलत नियतविरुद्ध पार्टीले बोल्नुपर्ने बताए । ‘हामी राज्यका निकायहरूलाई बलियो बनाउने र विश्वास गर्ने गछौँ ।
तर त्यसको दुरुपयोग गरिन्छ, र बद्नियत राखिन्छ भने त्यो स्वीकार्य छैन,’ उनले भने, ‘सुन तस्करीमा गृहमन्त्री र मन्त्रीहरूको संलग्नताबारे प्रश्न उठेको छ, त्यही कुरा बोल्दा अहिले एउटा सांसदलाई बाटोबाट उठाएर हिरासतमा पुर्याइएको छ ।’
उनले त्यसबारे पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग्नुपर्ने बताए ।
-कान्तीपुरकाे सहयाेगमा