२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

विश्व आदिवासी दिवस

महामन्त्री थापाले भने  :   " कांग्रेसले काम गर्ने र परिणाम देखाउने बेला हो "

'कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन '

मंगलवार , श्रावण २३, २०८०

काठमाडौँ, साउन । अहिले कांग्रेसले गुनासो गरेर बस्ने बेला नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । उनले  भने, 'कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहसमेत गरी ३३२ वटा सरकारमा संलग्न रहेको छ । ' 

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, 'कांग्रेस अहिले पार्टीको नीति र सिद्धान्त बमोजिम कानुन र योजना बनाउने अनि कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्छ । '

'कांग्रेस संघमा, प्रदेशमा र स्थानीय सरकारमा पनि छ । त्यसकारण अहिले कांग्रेस ३३२ वटा सरकारको नेता हो, कांग्रेसलाई गुनासो गरेर बस्ने छुट छैन,’ उनले भने, ‘यो कांग्रेसले काम गर्ने र परिणाम देखाउने बेला हो । '

'हामीले संविधानको कार्यान्वयनका लागि काम गर्ने हो, कानुन बनाउने हो । योजना बनाउने हो, कार्यान्वयन गर्ने हो ।’

महामन्त्री थापाले कांग्रेस समावेशी लोकतन्त्रको पक्षधर पार्टी रहेको भन्दै दलित, महिला, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिमसहितका समुदायलाई अधिकार दिने विषयमा प्रस्ट रहेको बताए ।

 उनले नेपालमा रहेका हरके नागरिक समान रहेको र हरेकले आफ्नो भाषा संस्कृति र संस्कारको संरक्षण पाउनुपर्ने बताए ।

उनले संविधानमा उल्लेख भएका अधिकार कानुनले थप सुनिश्चित गर्नुपर्ने अवस्था रहेको बताए । ‘संविधानले विभिन्न अधिकार दिएको छ, तर नागरिकले त्यसको अनुभूति गर्न पाएको अवस्था छैन । 

हामीले कतिपय कुराहरू संविधानमा संशोधन गर्नुपर्ने होला, कतिपय संविधान बमोजिम कानुनहरू बनाउनुपर्ने होला वा कतिपय पूराना कानुनलाई संविधान अनुकूल बनाउनुपर्ने होला,’ उनले भने, ‘त्यसका लागि हाम्रो भूमिका छ, त्यो हुनुपर्छ ।’

उनले संविधानमा रहेका कतिपय कमजोरीहरूलाई सच्याएर अघि बढ्न कांग्रेस सकारात्मक रहेको बताए ।

‘हामी कहाँ विभिन्न शक्तिहरू छन्, कतिपयले संविधानमा कमा, फुलस्टप पनि चलाउन पाइँदैन भनिरहेका छन् भने कतिपयले यसलाई माँस्नुपर्छ भन्नेसम्मको तर्क पनि छ,’ उनले भने, ‘तर नेपाली कांग्रेस यी सबै कुराभन्दा फरक सोचिरहेको छ, हामी संविधान छ, यो अपर्याप्त छ, यसलाई पर्याप्त बनाउने काम हाम्रो हो । 

यो संविधानमै, यो व्यवस्थामै सबैको हक छ, अधिकार छ । यो संविधानले नै देशलाई समुन्नतिको बाटोमा अघि बढाउन सक्छ भनेर कांग्रेसले काम गरिरहेको छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार