काठमाडौँ, साउन । नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद् बैठकमा जवाफ दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
महामन्त्री शर्माले शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद् बैठकमा खोज्नुपर्ने बताएका हुन् ।
उनले भने, 'प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसद्को भएको भन्दै अविलम्ब संसद् सुचारु हुनुपर्छ । उनले थपे, सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्छ ।'
छानबिनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने उनको भनाइ थियो ।
'कांग्रेस बैठकले भ्रष्टाचारको सन्दर्भमा भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि हुँदैन, भ्रष्टाचार केवल भ्रष्टाचार हुन्छ, छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ, निर्दोष कोही फस्नुहुन्न, दोषी कोही उम्किनु हुन्न भनेर निर्णय गरेको छ । यो पनि स्पष्ट पारौँ । ’
उनले भने‚ ‘नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनका लागि माग गरेको छ । आजको बैठकमा हामी छलफल गर्दा मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दै छौं ।'
'गलत कुरा गरिरहेका छैनौं तर मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन् ? प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसद्मा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने ?’