२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक 

एमालेको अवरोध नभए अर्को बैठक आज १ बजे बस्ने '

सुन तस्करी प्रकरण : छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग

सोमवार , श्रावण १५, २०८०

 

काठमाडौँ, साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । 

सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान एमालेले राखेको थियो । उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद् चल्न नदिने जानकारी एमालेले सभामुखलाई सोमबार मध्यान्ह दिएको थियो ।

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताए ।

'छानबिन समिति गठन गरेपछि मात्रै संसद् चल्न दिने हाम्रो अडान छ । उच्चस्तरीय छानबिन समिति गठन नगरिए संसद्को प्रक्रिया अगाडि बढ्दैन, संसद् चल्दैन,' उनले भने, 'गृहमन्त्रीमाथि प्रश्न र आशंका छ । उहाँ मातहतका निकायले उहाँमाथि छानबिन गर्न सक्दैनन् । त्यसैले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ अनिमात्र संसद् अगाडि बढ्छ ।;

सभामुखले एमालेलगायतका दलका संसदीय पदाधिकारीसँग संसद्को अवरोध खुलाउनेबारे छलफल गरेका थिए । त्यसपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठनको अडान नछोडेको र सरकारको तर्फबाट त्यसमा सकरात्मक जवाफ नआएपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गर्न लगाएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार