काठमाडौँ, साउन । नेपाली कांग्रेसका नेता प्रतिनिधिसभा सदस्य तथा डा. शेखर कोइरालाले राज्यले नै दण्डहिनतालाई प्रश्रय दिन थालेकाले मुलुकको भविष्य विद्यार्थीको काँधमा रहेको बताएका छन् ।
उनले भने, ‘राज्यले कानुन बनाएरै दण्डहीनतालाई प्रश्रय दिन थालेको छ,’ नेविसंघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रममा उनले बताए ।
उनले थपे, ‘सरकारले अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता हुने गरी ऐन संशोधनका लागि संसद्मा प्रस्ताव गरेर दण्डहीनतालाई संरक्षण गर्न खोजेको प्रस्ट छ‚ त्यसैले अब युवा, विद्यार्थीलाई जिम्मेवार भएर अघि बढ्नुको विकल्प छैन ।’
अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकारवादीले नेपाललाई हेरिरहेको, सर्वोच्च अदालतले गरेका निर्णयहरू, संविधान सबैलाई पन्छाएर बनाएका कानुन लागू हुन्छ भन्दै कोइरालाले प्रश्न गरे ।
‘यसले अन्तर्राष्ट्रिय रुपमा नेपाल कहाँ दर्ज हुन्छ‚ त्यसैले यी सबै विषयलाई कांग्रेसले गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भने, ‘मुलुकमा भ्रष्टाचार र दण्डहीनतामा शून्यसहनशीलता भएमात्रै सुशासन हुन्छ र यसमा सबै सचेत हुनुपर्छ किनभने यो अत्यन्तै गम्भीर विषय हो ।’
सुशासन कायम नभएसम्म संघीयता बलियो नहुने कोइरालाको तर्क थियो । उनले देशको भविष्य बनाउने विश्वास युवा विद्यार्थीमाथी भएकाले त्यो भरोसा र विश्वासलाई डगमगाउन दिन नहुने बताए ।
राजनीतिक स्थायित्व नभएसम्म मुलुकको विकास सम्भव नहुने कोइरालाको भनाइ थियो । कोइरालाले राजनीतिक स्थायित्व र विकासका लागि कांग्रेसले वडादेखि केन्द्रसम्म अभियान सञ्चालन गर्न लागेको बताए ।
प्रजातन्त्र पुनःस्थापनापछिको केही वर्ष मुलुकमा उल्लेखनीय रुपमा विकास निर्माणको काम भए पनि त्यसपछि राजनीतिक अस्थिरताका कारण मुलुकले सही गति लिन नसकेकाले राजनीतिक स्थायित्व आवश्यक रहेको उनले सुनाए ।
दुई ठूला छिमेकी देशका बीचमा रहेको नेपालले दुवै छिमेकीसँग आफ्नो सरोकारको विषयमा स्पष्ट रुपमा कुरा गरेर अघि बढ्नुपर्ने कोइरालाको भनाइ थियो ।
‘नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले राष्ट्रिय सरोकार र छिमेकीलगायतका मुलुकका सरोकारबीच अन्तरद्वन्द्व सृजना गर्नुहुँदैन,’ उनले भने, ‘छिमेकीलगायतका मुलुकको सरोकार बुझ्नुपर्छ तर उनीहरूको सरोकारको विषयमा हामीले काम गर्ने होइन ।
हाम्रो सरोकारको विषयमा राम्ररी बुझाएर अघि बढ्नुपर्छ ।’ अन्तर्राष्ट्रिय समुदायको क्रिडास्थल नेपाललाई बन्न नदिन सबै सचेत हुनु आवश्यक भएको कोइरालाले बताए ।
‘त्यसका लागि हामीले हाम्रो चासोको विषयमा मात्रै कुरा गर्नुपर्छ र हामीले हाम्रो कुरा स्पष्ट रुपमा राख्न सक्नुपर्छ,’ उनले भने, ‘गरिहाल्छौं, भइहाल्छ भन्ने हाम्रो नेताहरुको बानी छ । त्यसरी हुँदैन । हाम्रो कुरो यो हो हामी योभन्दा तलमाथि हुन सक्दैनौं भन्ने अडान राख्न सक्नुपर्छ ।’