काठमाडौं, चैत । नेपाल धितोपत्र बोर्डमा पाँच बैंकले ९ अर्बभन्दा बढीको ऋणपत्र निष्कासनका लागि आवेदन दिएका छन् । बैंकले ९ अर्ब ६० करोड बराबरको ९६ लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिमा वाणिज्य बैंकले २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने उल्लेख गरेको थियो । वाणिज्य बैंकले २०७७ असार मसान्तभित्र आफ्नो चुक्तापुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेबमोजिम बैंकहरू धमाधम ऋणपत्र जारी गर्ने प्रक्रियामा रहेका छन् ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म सबै वाणिज्य बैंकहरूले न्यूनतम २५ प्रतिशत ऋणपत्र निष्कासन गरिसक्नुपर्ने भए पनि हालसम्म सनराइज बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, नबिल बैंक, सिटिजन बैंक, एनएमबी बैंक, सानिमा बैंक, ग्लोबल बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डू र एभरेस्ट बैंकले ऋणपत्र सार्वजकि गरेक धितोपत्र बोर्डको तथ्यांकमा उल्लेख छ ।
निष्कासित ऋणपत्रमध्ये केही दोस्रो बजारमा कारोबारसमेत हुने गरेका छन् । चालू आर्थिक वर्षको बजेटमा ऋणपत्रलाई पनि दोस्रो बजारमा कारोबार गर्ने उल्लेख गरेको थियो । त्यसैअनुरूप नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन प्रणालीबाट पहिलोपटक गत ९ पुसबाट ऋणपत्रको कारोबार सुरु गरेको हो ।
हाल नेप्सेमा एनएमबी बैंक, सानिमा बैंक, ग्लोबल बैंक, सनराइज बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डू र एभरेस्ट बैंकका ऋणपत्र सूचीकृत भएका छन् । यी कम्पनीको २ करोड ४१ लाख ९७ हजार ३ सय ७ कित्ता ऋणपत्र नेप्सेमा सूचीकरण भएका छन् ।
अनुमतिको पर्खाइमा रहेका कम्पनी
कम्पनी समय ऋणपत्र संख्या
प्रभु बैंक १० प्रतिशत ८ वर्षे २०,००,०००
एभरेस्ट बैंक १०.२५प्रतिशत ७ वर्षे १०,००,०००
सानिमा बैंक १०.२५प्रतिशत १० वर्षे ४०,००,०००
एनसीसी बैंक १०.५प्रतिशत १० वर्षे ३०,००,०००
बैंक अफ काठमान्डू १०.२५प्रतिशत १० वर्षे १६,००,०००
ऋणपत्रको कारोबार सुरु गरिए पनि आधार मूल्य तय गर्न नसकिएको नेप्सेका कार्यकारी प्रमुख चन्द्रसिंह साउदले सञ्चारकर्मीलाई बताएका छन् । नेप्सेमा केही कम्पनीको मात्रै ऋणपत्र सूचीकृत भए पनि सूचीकृत नभएका ऋणपत्रको ओटीसी बजारमा कारोबार भइरहेको साउदले बताए । उनले अहिले आधार मूल्य तय नभए पनि माग र आपूर्तिका आधारमा कारोबार भइरहेको उनले सञ्चारकर्मीलाई बताए ।
अनलाइन प्रणालीबाट ऋणपत्र खरिद–बिक्री गर्दा ५ लाख रूपैयाँसम्मका लागि ०.२० प्रतिशत कमिसन भुक्तानी गर्नुपर्छ । त्यस्तै, ५ लाखभन्दा माथि ५० लाखसम्मको कारोबार हुँदा भने ०.१० प्रतिशत र ५० लाख रूपैयाँभन्दा माथिको कारोबारको हकमा भने ०.०५ प्रतिशत कमिसन भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।