२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

मीन विश्वकर्माले भने :  ' पार्टी संकटमा पुगेको भन्दै अफवाह नफैलाउ'

'कांग्रेस सत्तामा छ, संकटमा छैन '

शुक्रवार , श्रावण ५, २०८०

 

काठमाडौँ, साउन । नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेस कुनै संकट वा खतरामा नभएर अलमलमा रहेको बताएका छन् । 

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा नेताहरूले बोल्नेक्रममा पार्टी संकटमा पुगेको भनेर उठेका विषयमाथि उनले पार्टीका नेताहरू आफैँले पार्टी संकटमा पुगेको भन्दै अफवाह फैलाउन नहुने बताए ।

हामी कुनै जोखिम वा खतरामा वा संकटमा भएको जस्तो लाग्दैन । बरू हामी अलमलमा भएको जस्तो लाग्छ,’ उनले भने, ‘वास्तवमा हामी अहिले सबै तहको सत्तामा छौँ, काम गर्ने ठाउँमा छौँ ।

यो बेला हामीले राम्रो काम गर्ने हो । काम गर्न छाडेर हामी सक्कियौँ भनेर अब सक्कियौँ, कमजोर भयौँ भनेर हिँड्ने होइन । अहिले यहिँनेर अलमलमा भएको जस्तो लाग्छ ।’

नेता विश्वकर्माले कांग्रेसलाई बरू कांग्रेसबाट खतरा रहेको बताए । ‘कांग्रेसलाई अहिले नयाँ वा पुराना अन्य दलहरूबाट खतरा छैन । 

बरू हाम्रै अन्तरकलहबाट हामीलाई जोखिम छ,’ उनले भने । उनले पार्टीमा एकले अर्कालाई अप्ठ्यारोमा पार्न पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धा भइरहेकोप्रति आपत्ति जनाए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर हाल पुर्पक्षका लागि कारागारमा रहेका नेता बालकृष्ण खाणको बचाउमा बोलेका नेता विश्वकर्माले परिवारको एउटा सदस्यमाथि अभियोग लाग्दा अभिभावकले उसको पक्षमा वकालत गर्ने वकिलको प्रबन्ध गर्ने कुरालाई सामान्यरुपमा लिनुपर्ने बताए ।

‘एउटा परिवारको सदस्यमाथि कुनै अभियोग लाग्यो भने वकिल राख्नुहुन्छ कि थपक्कै स्विकारेर जेल पठाउनुहुन्छ ?,’ उनले अघि भने, ‘कांग्रेस पनि त्यही एउटा परिवार हो । 

आफ्नो सदस्यलाई कुनै अभियोग लाग्यो भने छिटो पक्राउ गर भनेर डेलिगेसन जाने कि के गर्ने ?’ उनले अदालतले अभियोग प्रमाणित नगरेको अवस्थासम्म कसैले पनि कसैलाई दोषी भनेर फैसला सुनाउन नमिल्ने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार