काठमाडौँ, साउन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक प्रतिकूलताका बाबजुद कांग्रेस गत निर्वाचनबाट पहिलो दल बनेको बताएका छन् ।
गठबन्धन र पार्टीभित्र थुप्रै चुनौतीहरूका बीचबाट पार्टीलाई पहिलो दल बनाउन सफल भएकोमा बधाईसमेत ज्ञापन गर्दै हाल सरकारको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रहेका उपसभापति खड्काले प्रतिकूलताका बाबजुद कांग्रेस पहिलो दल बनेको र त्यही जगमा टेकेर अहिले सरकारमा रहेको बताए ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकदेखि हालसम्मको राजनीतिक घटनाक्रमबारे बिफ्रिङ गर्दै उपसभापति खड्काले मुलुकको ठूलो दलका रुपमा कांग्रेसले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
स्थानीय तहमा ऐतिहासिक जित हासिल गर्यौँ, त्यो अवस्थामा हामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गयौँ । विभिन्न अफ्ठ्यारा र असहजताका बाबजुद जनताले हामीलाई मत दिएर हामी फेरि पनि पहिलो पार्टी बन्यौँ,’ उनले भने, ‘तर पुस १० मा हामी केही चुक्यौँ ।
त्यसपछि दुई महिना हामीले ठूलो मिहिनेत गरेर मुलुकको राजनीतिक परिस्थिति फेरि हाम्रो अनुकूल बनेको छ । अब हामीले जथाभावी बोलेर यसलाई भत्काउने, बिगार्ने कुरामा लाग्नु हुँदैन ।’
उनले प्रतिकूलताको बाबजुद पनि पार्टीलाई विजयी गराउन र पार्टीलाई पहिलो पार्टी बनाउनका लागि सफल भएको भन्दै सबैलाई बधाई ज्ञापन गरे ।
‘पुस १० मा तोडिएको गठबन्धनलाई हामीले राष्ट्रपति निर्वाचनपछि फेरि एक ढिक्का पार्न सफल भयौँ । र, १७ चैतमा नेपाली कांग्रेस सरकारमा सहभागी भयो । अहिले कांग्रेसका तर्फबाट हामी ९ जना मन्त्रीहरू संघीय सरकारमा छौँ ।
हामी सरकारमा सहभागी भएको ३ महिना २३ दिन पुगेको छ,’ उनले भने, ‘कांग्रेस सत्ता साझेदार दलमात्रै हो । तर सरकारका राम्रा नराम्रा कामको जवाफ कांग्रेसले पनि दिनुपर्ने हुन्छ । त्यसैले संवेदनशील भएर काम गर्नुपर्ने अवस्था छ ।’
उनले अहिले आफू भुइँमा बसेर पार्टीलाई माथि उठाउन भूमिका खेल्ने पार्टीका कार्यकर्ता र मतदाता नै पार्टीको नेतृत्वसँग रुष्ट बनेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।