२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस 

केन्द्रीय कार्यसमिति बैठक आज बस्दै  : " १० एजेण्डा तय "

बैठक दिउँसो १ बजे सानेपामा, खाँडकाे विषयमा मौन 

मंगलवार , श्रावण २, २०८०


काठमाडाैँ, साउन  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न  लागेको हो  ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । 

बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ । 

यसअघि असार २७ गते तय भएको बैठक विविध कारणले गर्दा आजलाई सारिएको हो ।   मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए । 

त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।

केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । 

अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्ने गरी बोलाइएको छ । गत वर्षको असार २७ गते बैठक बसेपछि अहिलेसम्म केन्द्रीय समिति बैठक बसेको छैन । 

यो बैठकका मुख्य एजेन्डाहरु यी भए पनि चर्चा भने धेरै विषयमा हुन सक्ने देखिएको छ । विशेष गरी भ्रष्टाचारको विषयलाई लिएर चर्को बहस हुने अनुमान गरिएको छ । 

सभापति देउवा यो विषयमा पनि केन्द्रित भएर छलफल गर्न तयार रहेको संकेत गरेका छन् । नक्कली शरणार्थी प्रकरणलगायत सम्पूर्ण विषयमा केन्द्रित रहेर छलफल गर्न उनी तयार भएका हुन् ।  एक पदाधिकारीका अनुसार पार्टी बैठकमा उनी खुला भएर सबै विषयमा छलफल गर्न तयार भएका हुन् । 

तर उनले नक्कली भुटानी शरणार्थाी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडका विषयमा छलफल गर्न तयार नभएको पाइएको छ ।  र पनि देउवालाई भने दबाब छ । 

अझ एउटै काण्डमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेपछि खाँडलाई पनि कारबाही गर्नुपर्ने आवाज शुरुआतदेखि नै नआएको होइन । 

तर त्यतिबेला पार्टी नेतृत्वले चासो देखाएन । मुद्दा पर्दैमा हामीले किन कारबाही गर्ने ? भन्नेतिर नेतृत्व लाग्यो । तर जिल्ला अदालतले दोषी नै ठानेर जेल पठाएपछि त खाँडलाई कारबाही गर्नुको विकल्प नेतृत्वसँग थिएन । 

यद्यपि आजको मितिसम्म खाँडमाथि कुनै कारबाही भएको छैन । संस्थापनले खाँडलाई बचाउनु पर्छ भन्नेतिर लागेको र संस्थापन इतरले कारबाही नै गर्नुपर्छ भन्नेतिर लागेको पाइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार