काठमाडौँ, साउन । नक्कली शरणार्थी प्रकरणलगायत सम्पूर्ण विषयमा केन्द्रित रहेर केन्द्रिय कार्यसमितिको छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन् ।
मंगलबारबाट सुरु हुने समितिको बैठकको एजेन्डा तय गर्न देउवा निवासमा भएको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा देउवाले सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका थिए ।
'सभापति सबै विषयमा छलफल गर्न तयार देखिनुभएको छ‚' बैठकमा संलग्न एक पदाधिकारीले भने, 'बालकृष्ण खाणको विषयमा केही निर्णय गर्न भने सकारात्मक देखिनुभएको छैन ।'
यसअघि देउवा नक्कली भुटानी शरणार्थी प्रकरणको विषयलाई बैठक एजेन्डा बनाउन तयार भएका थिएनन् ।
भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री खाणलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ । खाण देउवा गुटका शक्तिशाली नेता हुन् ।
३(३ महिनामा हुनुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठक करिब एक वर्षपछि बस्न लागेको हो । असार २९ गते बैठक बोलाइए पनि प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएपछि मंगलबारका लागि सारिएको थियो ।