२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

प्रतिनिधिसभामा बजेटमाथि छलफल

सांसद थापाले भने :" कर छुटको आधार के ? संसद्‍मा आउनुपर्छ "  

बजेटका कतिपय उद्देश्य सही भए पनि कार्यान्वयन प्रत्युत्पादक हुनसक्ने

आइतवार , जेठ २८, २०८०

काठमाडौँ, जेठ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले  दिइएको  कर वृद्धि तथा छुटको औचित्य  स्पष्ट पार्नुपर्ने कांग्रेस सांसद गगन थापाले बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा बोल्दै सांसद थापाले बजेटमा करका दर हेरफेर गर्न पाइने भए पनि तिनको औचित्य हुनुपर्ने बताएका हुन् ।

‘करको दरमा कसैलाई छुट दिँदा छुटको भार कति पर्‍यो, के आधारमा छुट दिएँ भन्नेबारे स्पष्ट रुपमा संसदमा आउनुपर्छ’ थापाले भने ।  बजेटका कतिपय उद्देश्य सही भए पनि कार्यान्वयन प्रत्युत्पादक हुनसक्ने खतरा हुने उनले बताए । 

बजेटबाट आलु, प्याजमा भ्याट लगाउँदा किसानले मूल्य पाउने वा स्वदेशी उत्पादनले बजार पाउने लक्ष्य होला, तर भोलि किसानले बजार पनि नपाउने र उपभोक्ताको भान्सा पनि महँगिने अवस्था आयो भने थप प्रत्युत्पादक हुन्छ, थापाले भने ।

बजेटको आकारसँगै राजस्व लक्ष्य अवास्तविक रहेकाले स्वीकार गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘कार्यान्वयन गरेर परिणाम ल्याउने हो भने बजेटको आकार अवास्तविक छ भन्ने मानेर बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेटका अपेक्षा कार्यान्वयन गर्न सजिलो हुन्छ’ थापाले भने । 

बजेटको आकार जस्तै राजस्वको लक्ष्य पनि आगामी वर्ष भेट्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘यो आर्थिक वर्षमा जसरी राजस्व उठिरहेको छ, जुन संशोधन गरेपछिको पनि भेट्दैन, अब राता रात हाम्रो आर्थिक व्यवहारमा के परिवर्तन हुनेछ ?’ उनले प्रश्न गरे । 

यसअघि आयात नियन्त्रण गर्दा वैदेशिक मुद्रा सञ्चिति बढे पनि राजस्व घटेको उल्लेख गर्दै उनले करिब ३० प्रतिशत राजस्व बढाउने अनुमानको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । 

बहुमतको सरकारले बजेट ल्याएपछि संसदबाट जस्ताको तस्तै पारित हुने तर तिनको कार्यान्वन भएरनभएका सम्वन्धमा जवाफदेही बन्नु नपर्ने परिपाटी रहेको थापाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार