२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु' : प्रधानमन्त्री दाहाल

शनिवार , जेठ २७, २०८०


काठमाडौँ, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन । 

पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गरे ।  

सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उनले भने, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।”

नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उनले बताए । आफ्नो इच्छा अनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उनको भनाइ छ । 

“नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । 

नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हुँदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उनले भने, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुसी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु ।” 

अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गरे । उनले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताए । 

“जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ । यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु ।”, 

उनले भने, “देशको सात सय ५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य रहेको छ । बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिनेछ ।”

आगामी आव २०८०र८१ का लागि विनियोजित बजेट आवश्यकता र  मागमा आधारित रहेको अर्थमन्त्री डा महतको भनाइ छ । “प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा बढी बजेट गएको भन्ने चर्चा र बहस संसद्देखि संसद् बाहिरसम्म चलिरहेको अवस्था छ । तर देशको आवश्यकतालाई प्राथमितामा राखेर बजेट विनियोजन भएको छ ।”, 

उनले भने, “विदेशी सहयोग आओस् नआओस् टोखा–छहरे सुरुङ मार्ग बनाउने प्रक्रियालाई अगाडि बढाउनेछौँ ।” उक्त कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा र प्रदेशससभा सदस्यमा निर्वाचित सदस्यको सहभागिता रहेको थियो । 

लाकरी भञ्ज्याङमा निर्माण गरिएको २७ कोठे आधुनिक भवन निर्माण गर्न रु छ करोडभन्दा बढी लगानी भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानाकारी दिए ।  बीस रोपनी जग्गामा कार्यालय भवन निर्माण गरिएको र भवन निर्माणका लागि स्थानीयवासीले जग्गासमेत उपलब्ध गराएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार