काठमाडौं, मंसिर । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबल खेल आज (बुधबार) सुरु हुदैछ । औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो ।
सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।
सोही कारण बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे सुरु हुनेछ ।
पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न पुरुष टिमलाई जित निकाल्न आवश्यक छ ।
भारत पुरुष भलिबलको समेत बलियो टिम हो । सागको पुर्व अभ्यासका लागि भारतमा रहदाँ नेपाली टिम भारतको राष्ट्रिय टिमसंग सबै मैत्रीपूर्ण खेलमा पराजित बनेको थियो । सोही कारण भारत सहित नकआउट चरणमा प्रवेश गर्न नेपाललाई बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ ।।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उद्घाटन राष्ट्रपतिले गर्ने तय भएको छ ।
नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ ।
काठमाडौंको दशरथ रंगशालामा मंसिर १५ गते एक भब्य कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन हुने तालिका तय छ ।
यसअघि राष्ट्रप्रमुखबाट सागको उद्घाटन हुदै आएको थियो ।
नेपालमा यसअघि सन् १९८४ र १९९९ मा साग आयोजना भएको थियो । दुवै संस्करणलाई तत्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उद्घाटन गरेका थिए ।।