काठमाडौँ, चैत ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहााले यसलाई लयमा ल्याइने बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।
गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।
अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ”, उहाँले भन्नुभयो ।