काठमाडौँ, फागुन । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार ९५३ दशमलव ०६ अङ्कमा कायम भएको छ ।
आज २५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर २६ हजार ४७३ पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।
आज बैंङ्किङ, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ समूह तीन दशमलव ९५, उत्पादन तथा व्यापार समूह २३ दशमलव ३८, लघुवित्त समूह १४ दशमलव ४५, म्युचुअल फन्ड शून्य दशमलव ०३ र व्यापार समूह ५० दशमलव ३७ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
आज जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६१ अङ्कले बढेको छ भने विकास बैंक समूह १२ दशमलव ८८ अङ्कले बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन समूह १९ दशमलव ९५, जलविद्युत् समूह १८ दशमलव ९५, लगानी समूह शून्य दशमलव ४४, जीवन बीमा समूह ६ दशमलव ८८ र अन्य समूह ६ दशमलव २१ अङ्कले बढेको छ ।
आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता पाँच दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै रू १० करोड ४८ लाख २४ हजार १२५ बराबरको एक लाख ३६ हजार ७३३ कित्ता शेयर किनबेच भएको छ ।