२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

सोमवार , माघ २३, २०७९

काठमाडौँ, माघ ।राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिनुभयो ।

त्यसअघि नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले राष्ट्रियसभाका उपाध्यक्षका रुपमा अर्याल योग्य व्यक्तित्वका रुपमा रहेको बताउनुभएको थियो । उपाध्यक्षका लागि अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनको एक सिद्धहस्त व्यक्तित्वलाई उपाध्यक्षका रुपमा पाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अर्याल  स्थापित महिला र सामाजिक क्षेत्रको जिम्मेवारीमा रहेर काम गर्नुभएको सफल व्यक्तित्व हुनुहुन्छ ।

प्रस्तावका पक्षमा आफ्नो धारणा राख्दै सांसद खिमलाल देवकोटाले महिला नेत्री एवं राष्ट्रियसभाका सदस्यका रुपमा रहनुभएका सांसद अर्यालको भूमिका नेपालको महिला आन्दोलनमा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले महिलालाई राज्यका अन्य निकायको प्रमुखमा निर्वाचित गर्नुपर्ने धारणा राख्नुभयो । माओवादी केन्द्रका स्थायी समिति सदस्य रहनुभएका अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लाग्नुभएका अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित हुनुभएको हो । समाजशास्त्रमा स्तातकोत्तर गर्नुभएका अर्याल विद्यावारिधिको शोधार्थी हुनुहुन्छ ।

अखिल नेपाल महिला सङ््घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गर्नुभएको छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उहाँ विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गर्नुभएको छ । उहाँका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार