काठमाडौँ, मंसिर ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। बुधबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुन-चाँदीको मूल्य बढेकाले त्यसको असर नेपालमा पनि परेको व्यवसायीहरू बताउँछन्।