काठमाडौँ, भदौ ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गर्नेछ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष ली भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभएको थियो ।