काठमाडौँ, साउन । विदेशी महंगा र विलासी वस्तु आयात गर्न छोड्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले भनेका छन, स्वदेशी वस्तु तथा सामग्रीको उत्पादन वृद्धि र बजारीकरणमा जोड दिँऔँ ।
नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासी वस्तु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए । उत्पादन भएका वस्तु तथा सामग्रीको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्याउन उनको आग्रह थियो ।
यस्तै कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी आर्थिक वृद्धिको जग बलियो बनाउन उनको आग्रह थियो ।
प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताएका थिए ।‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्याउने नीति छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रासामु छ ।
यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न रोजगारीका अवसर सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।
यस क्रममा उनले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरूमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको पनि बताएका थिए । उनले भनेका छन्, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य दुवै चाप परेको स्थिति छ ।
बढ्दो उपयोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमुलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्वमा बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप सुदृढ गर्न हामी सबैले बुद्धिमतापूर्ण ढंगले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।
'यसका लागि सरकार र निजी क्षेत्र दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको सुदृढीकरणका लागि उद्यमी व्यवसायीहरूले विदेशमा उत्पादित महंगा र विलासी वस्तु आयात र उपयोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन भएका वस्तु तथा सामग्रीको उत्पादन वृद्धिमा सहयोग पुर्याउन आग्रह गर्दछु ।'