२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्राध्यापक सङ्घ पदभार ग्रहण कार्यक्रम

सञ्चारमन्त्री कार्कीले भने : 'देशको समृद्धि र जनताको सेवा गर्न राजनीति'

शनिवार , आषाढ २५, २०७९

 

इनरुवा, असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास बिनाको राजनीति खोक्रो भाषण मात्र हुने बताउनुभएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आज आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा उहाँले जनताको सेवा र देशको समृद्धिका लागि आफू राजनीतिमा लागिपरेको बताउनुभयो ।

मन्त्री कार्कीले जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताउँदै आफूले बोलेको कुरा पूरा गर्दै आएको दाबी गर्नुभयो । विकासबिनाको राजनीति जनताका लागि धोका हुने बताउँदै उहाँले आफूले जनतासामु गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्नुभयो ।

वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत्लगायत क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागिपरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

भन्टाबारीदेखि धरानसम्मको पुरानो रेल्वेमार्गलाई सडकमार्गको रूपमा स्तरोउन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाका लागि काम गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घ एकाइ समितिमा निर्वाचित सभापति केशव पुरी, उपसभापतिमा उमेश खड्कासहितका पदाधिकारीलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बससमेत उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, कोसी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार