बुटवल, असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिन भनेर कसैकहाँ नजाने बताएका छन् । त्यस्तै उनले स्थानीय तह निर्वाचनमा केही बेफाइदा र कमीकमजोरी रहे पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन सरकार बनाउने बेलामा आलोपालोमा आफूलाई प्रधानमन्त्री बनाउने सहमति भएको संकेत गरेका हुन् । यद्यपि दलीय गठबन्धन राजनीतिक मात्र नभएर विश्वासको संगम भएकाले पदका लागि आफूले मरिहत्ते नगर्ने उनको भनाई थियो ।
कसैलाई प्रधानमन्त्री बन्छु भनेर भन्न जान्नँ, पदको लोभ पनि छैन । अहिले सरकारमा कसरी जाने भन्ने भन्दा निर्वाचनमा कसरी जाने भन्ने तयारी आवश्यक छ, उनले भने । अहिले सरकारभन्दा पार्टी विस्तार, संगठन निर्माण र जनताको जनजिविका परिवर्तन आफ्ना लागि महत्त्वको विषय भएको उनले बताए ।
त्यस्तै, कमीकमजोरी रहेपनि गठबन्धन समयको माग भएको बताए। पाँच दलीय गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा समाजवादी पार्टीले सफलता प्राप्त गरेको छ। जिल्ला समन्वय समितिमा पनि पुग्न सकिएको छ, उनले भने, राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्छ।
गठबन्धन आवश्यक छ। स्थानीय तह निर्वाचनमा मतपत्रका कारण धेरै मत बदर भए पनि समाजवादीले ९ लाख २७ हजार मत प्राप्त गरेको अध्यक्ष नेपालको भनाइ थियो ।
गठबन्धन कुर्दा स्थानीय तहमा ४० प्रतिशत स्थानमा मात्रै उमेदवारी दिएको बताउँदै आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन हुन नसक्ने क्षेत्रमा समाजवादी एक्लै चुनावमा होमिने उनले बताए। त्यस्तै, जनताबाट जनमत लिएर जितेका जनप्रतिनिधि जनतामुखी र जवाफदेही हुनुपर्ने नेपालको भनाइ थियो।
जनप्रतिनिधि बन्ने तर, जनताप्रति उत्तरदायी नहुने, मन्त्री पद लिने तर दायित्व पूरा नगर्ने यस्तो परिवर्तन हटाउन संस्कारमै परिवर्तन आवश्यक रहेको उनले बताए। पद लिएका व्यक्तिको आनीबानी, संस्कार र काम गराइको शैली परिवर्तन आवश्यक छ, उनले भने, हाम्रोमा सुरु भएको छ ।
गठबन्धन आवश्यकता अनुसार भएता पनि स्थानीय तहमा एकीकृत समाजवादी आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने नेपालले बताए।
अध्यक्ष नेपालले निर्वाचनमा आफूहरूमाथि षडयन्त्र गरिएकोसमेत बताए। उनले भने, हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो। मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।