पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिकरुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ । यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।
अन्तर्घातको छानविन गर्न समिति स्थायी समितिको बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविनका लागि एक समिति गठन गरेको छ । अनुशासन आयोगका संयोजक टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको छानविन समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।
सो समितिले ७५३ वटै स्थानीय तहको निर्वाचनका क्रममा भएका गतिविधिका बारेमा एकमुष्ठरुपमा छानविन गर्नेछ । समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रको तयारी छ ।
अखिल(क्रान्तिकारी)को समस्या समाधानका लागि समिति त्यस्तै स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ । क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ ।
समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो । स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरिएको बताइएको छ ।