काठमाडौं, असार ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय नेपाल भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा यो सहकार्य अझ विस्तार हुने आशा गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, नेपाल भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ ।
त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु । उहाँले पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सह्रानीय छ आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, विद्युत् व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रोतर्फबाट निरन्तर सहयोग हुनेछ ।” भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।रासस