२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाली कांग्रेस

प्रवक्ता महतले भने : "मन्त्रीका गतिविधि प्रधानमन्त्रीको निगरानीमा" 

मंगलवार , आषाढ २१, २०७९


काठमाडौँ, असार । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्रीका गतिविधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । 
मंगलबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग प्रवक्ता महतले सरकारका मन्त्रीहरूका गतिविधि कानुनभन्दा बाहिर गएर हुन नमिल्ने बताए ।
बजेट निर्माणमा बिचौलियालाई सहभागी गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने माग आइरहेका बेला प्रवक्ता महतले त्यसबारे सत्यतथ्य बुझेर प्रधानमन्त्रीले निर्णय लिनसक्ने बताए ।
‘हाम्रो पार्टीमा अहिले त्यसबारे छलफल भएको छैन । तर, सरकारमा जुनसुकै दलका मन्त्री किन नहुन् ? सम्बन्धित मन्त्रालयको जुन जिम्मेवारी छ, त्यहाँ कसरी काम गर्ने भन्ने कानुनको परिधि छ, त्यो परिधिभित्र रहेर काम गर्नुपर्छ । 
कसैले त्यो कानुनी घेरा नाघेको छ भने त्यसको सत्य तथ्य बाहिर आउनुपर्छ, प्रधानमन्त्रीजीले पनि त्यो विषयलाई निगरानी गरिरहनुभएको छ,’ उनले भने ।
उनले बजेट निर्माणको विषयमा प्रधानमन्त्रीले सुक्ष्म निगरानी गरिरहनुभएको दाबी गरे । ‘सबै कुरा बोलेर समाधान हुँदैन, त्यस्तो मान्यता पनि राख्नुहुँदैन । 
कतिपय कुरा नेताहरूबीचको छलफल गरेर टुंग्याउनुपर्ने विषय पनि हुन्छन्,’ उनले भने, ‘अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, त्यो के विषय हो ? विस्तारै बाहिर आउँला । बिस्तारै यो विषयले पनि निकास पाउँछ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार