२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ :कानूनमन्त्री खनाल

सोमवार , आषाढ २०, २०७९

बागमती,असार । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि प्रदेशभरका मन्त्रालय, सरकारी तथा मातहतका कार्यालयमा सूचनामैत्री वातावरण बनाइने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौँडामा आयोजित सूचनाको हक प्रवद्र्धन कार्यक्रममा मन्त्री खनालले सङ्घीयताको मर्मअनुसार बागमती प्रदेशमा पनि प्रदेश सूचना पुनरावेदन समिति गठन गरिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, कार्यालयले गरेका काम कारवाहीबारे नागरिक सुसूचीत हुनुपर्दछ । सूचना लिन आएका नागरिकलाई सूचना अधिकारीले दिन मिल्नेसम्म सूचना सहजै उपलब्ध गराउनुपर्दछ । हामी बागमती प्रदेशभरका कार्यालयमा सूचना दिने अधिकारी भरपर्दो र व्यावहारिक बनाउने सन्दर्भमा अभिमुखीकरण गर्नेछौँ ।

कार्यालय प्रमुखले आफ्नो कार्यालयको सूचना डेस्क प्रविधिमैत्री बनाउने, सूचना अधिकारीलाई आवश्यकताका आधारमा अन्य कामको बोझ कम गराउनेलगायतका कार्यमा ध्यान दियौँ भने कार्यालयको सूचना प्रवाह प्रभावकारी हुने उहाँको भनाइ छ । कार्यक्रममा प्रदेश सरकारले गठन गरेको सूचना पुनरावेदन समितिको संयोजक र सदस्यको नाम सार्वजनिक गरिएको थियो । समितिको संयोजकमा हरिप्रसाद अधिकारी तथा सदस्यमा सम्झना हुमागाईं र कृष्ण थापामगर रहनुभएको छ ।कार्यक्रममा कानून मन्त्रालयका मदन शिवाकोटी र समितिका संयोजक अधिकारीले सूचनाको हकका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा विभिन्न कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार