२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

निर्वाचन आयोगकाे निष्कर्ष : ' ३० कात्तिकमै चुनाव गर्नुपर्ने, प्रस्ताव तयार गरिँदै '

आइतवार , आषाढ १९, २०७९


काठमाडौं, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्न भनेपछि आयोगले ३० कात्तिक मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । आयोगका अनुसार, कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको  छ । 
आयोगका एक पदाधिकारीले सञ्चारकर्मीलाई भने, ‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं’ उनले  थपे,  ‘कात्तिकको अन्तिम सातामा पनि सकेसम्म छिटो निर्वाचन गर्नुपर्छ भनेका छौं । नत्र हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने देखिन्छ ।’

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखसँग निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्नसकिने मनस्थिति बनेको ती पदाधिकारीले बताए ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा चुनाव विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए । उनका अनुसार, स्थानीय तहको निर्वाचनमा केही समय अभाव भएकाले दवाव परेको थियो । उनले भने, ‘अहिले त दुई तहको निर्वाचन गर्नुपर्ने भएकाले कम्तीमा चार महिना आवश्यक पर्ने देखिन्छ ।’
केही दिन अघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए । 
त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए । स्रोतका अनुसार, ढिलोमा बुधबारसम्म आयोगले औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिससहित सरकारलाई पत्राचार गर्नेछ ।

आयोगले दशैंविदा सकिए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको मनोनयन प्रक्रिया सुरु गर्ने योजना बनाएको हो । आगामी १० देखि २३ असोजसम्म दशैंविदा पर्छ ।

दशै सकिए लगत्तै मनोनयन दर्ता प्रक्रिया थाल्ने र असोजको अन्तिम साताभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी गरेको हो । त्यसो हुँदा उम्मेदवारले दशैंपछि तिहार सकिएपछि पनि प्रचार प्रसार गर्न पाउँछन् । आयोगले प्रस्ताव गरेको मिति तिहारको करिब २० दिनपछि पर्छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको अपेक्षा गरेको छ । मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नेछ । त्यसलगत्तै दलहरुलाई समानूपातिक उम्मेदवारहरुको सूचि पेश गर्न समय दिनेछ ।

समय अभाव भएमा दलदर्ता र समानुपातिकको सूची पेश गर्न समय सँगसँगै पनि हुनसक्ने कर्मचारीहरु बताउँछन् । दशैंअघि नै समानुपातिक उम्मेदवारहरुको मनोनयन प्रक्रिया टुंगिइसक्नेछ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार