काठमाडौँ, जेठ । सरकारले चालु आर्थिक वर्ष ०७८/७९ का लागि बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत आयव्ययको आकार घटाएको सरकारले दोस्रो पटक संशोधित अनुमान पेस गरेको हो ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आइतबार यस आर्थिक वर्षमा लक्षित बजेट खर्च हुन नसक्ने जनाएका हुन्।
कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८ दशमलव ६ प्रतिशत बजेट खर्च हुने संशोधित अनुमान शर्माले संसद्मा पेस गरेका छन ।
कुल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव २ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ अर्थात् ९२ दशमलव ७ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ ।
त्यस्तै राजस्व लक्ष्य पनि घटाइएको छ । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ बराबर हुने संशोधित लक्ष्य सार्वजनिक गरिएको छ।
त्यसैगरी, वैदेशिक अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ बराबर मात्रै प्राप्त हुने सरकारले जनाएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बराबरको वार्षिक बजेट विनियोजनको घोषणा गरेको थियो ।
तर लक्ष्यअनुसार खर्च गर्न नसकेपछि गत माघमा अर्धवार्षिक समीक्षामार्फत पनि सरकारले चालु आर्थिक वर्षका लागि बजेट रकम घटाएको थियो । माघमा गरेको संशोधनका क्रममा १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने अनुमान छ । यो रकम कुल विनियोजनको करिब ९४.७ प्रतिशत हो ।
कान्तीपुर दैनीक