२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रतिनिधिसभा बैठक : 'सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित'

शनिवार , जेठ १४, २०७९

 

काठमाडौं, जेठ । प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको थियो । त्यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

गठबन्धन सरकारका तर्फबाट आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, ऊर्जा लगायतका क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा अर्थतन्त्रमा बाह्य चाप परिरहेको सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

यसै वर्ष सङ्घीय संसद् सदस्यको निर्वाचन तथा प्रदेशसभाको निर्वाचनसमेत सम्पन्न गर्नुपर्ने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ ।

त्यसअघि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सभामुख सापकोटाले अपराह्न ३ः४५ बजे नै सांसदहरुलाई बैठकस्थलमा प्रवेश गरी आसन ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार