बुटवल, जेठ । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय ३० हजार १३० मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पराजित बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार सावित्रादेवी अर्याल २४ हजार ९०४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याएका छन् ।
बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धन भएको उपमहानगरमा एमालेले जनमुक्ति पार्टीका साथ लिएको थियो । जनमुक्ति पार्टीका केही उम्मेदवारले सदस्य भने जितेका छन् ।
बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ । स्वतन्त्र, गठबन्धनबाट रुख चिन्ह लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक(एक वडा जितेका छन् ।
जबकि ०७४ को चुनावमा यहाँ प्रमुखरउपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । कांग्रेस २ वडामा मात्रै खुम्चिएको थियो ।
२०५४ देखि लालकिल्ला बनेको बुटवल उपमहानगरमा एमालेले ठूलो हार बेहोरेको छ ।
बुटवलमा भएको अस्थायी राजधानी दाङ लैजानु, पार्टी फुट, मोतीपुर औद्योगिक क्षेत्र मुआब्जा विवाद, चौराह गोलपार्क क्षेत्रको भताभुङ्ग राजमार्ग र मतदाताबीच कम भिजेका प्रमुखका उम्मेदवार एमालेका लागि हारका कारण बनेको विश्लेषक बताउँछन् । बुटवल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत हो ।