२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपत्यका नगरपालिका फोरमको कार्यालय तोडफोड

बिहिवार , बैशाख २९, २०७९

काठमाडौँ, वैशाख ।उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले तोडफोड गरेको छ । बुधबार मध्यपुरथिमि नगरपालिका–३स्थित गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा तोडफोड भएको  नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालयभित्रका दराजलगायतका सामान फुटाइएको, सामान यत्रतत्र छरिएको अवस्थामा भेटिएको उहाँको गुनासो थियोे ।

थिमिस्थित महानगरीय प्रहरी बृत्तका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुनसक्ने बताउनुभयो । उहाँले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पनि फुटाएको जानकारी दिनुभयो । सहकारीबाट रु एक हजार ८०० चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अवस्थामा भेटिएकाले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुनसक्ने उहाँको जिकिर थियो ।

प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुवै कार्यालयको घटनास्थलको निरीक्षण गरी क्षतिको विवरण लिएको,   घटनाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनमा  खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुनसक्ने भएकाले सबैमा सचेत रहनसमेत आह्वान गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार