काठमाडौँ, वैशाख।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् ।
‘कोटेश्वर, जडिबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले भने ।
मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएका छन् ।ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडिबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरु क्यूमा चलिरहेका छन् ।अनलाइनखबर