धनगढी, वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश जोगाउन स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिएका छन ।
सत्तारुढ गठबन्धनले सोमबार धनगढीमा आयोजना गरेको चुनावी आमसभामा प्रचण्डले सत्तारुढ गठबन्धनलाई बामपन्थी र लोकतान्त्रिक शक्तिको मिलन भनी परिभाषित गरेका छन ।
उनले भने, ‘हामी बामपन्थी र लोकतान्त्रिक पार्टीले झगडा गर्दा देश र जनताले दुःख पाए, हामीले आपसमा समझदारी गर्दा देशका समस्या सामाधान भएका छन्, ‘त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धनलाई जिताउन जरुरी छ ।’
उनले आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई लक्षित गर्दै एकथरी मान्छेले छोरीलाई जितायो भने दुर्घटना हुन्छ भनेर प्रचण्डले भनेको भन्दै गतल टिप्पणी गरिरहेको बताए ।
‘छोरीलाई जितायो भने दुर्घटना हुन्छ भन्यो भनेर एकथरी मान्छेहरुले हुँदा नहुँदा फत्तुर लगाएका छन् तर हामीलाई जनताप्रति विश्वास छ,’ उनले भने, ‘गठबन्धनले जित्यो भने देश नयाँ युगतिर जान्छ । दुर्घटनाबाट जोगिन्छ ।’