२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एमसिए–नेपाल

एमसीसीको सहयोग : ' सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन'

मंगलवार , बैशाख १३, २०७९

 

काठमाडौँ, बैशाख । सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले आज एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो । एमसिए–नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा सम्पन्न एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा रहेको छ ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ती प्रयोगशालाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गरिएका आस्फाल्ट मिक्स डिजाइन प्रयोगशाला, सुपरपेभ आस्फाल्ट प्रयोगशाला, भण्डारण प्रयोगशाला तथा कटिङ एवं कोर ड्रिलिङ उपकरण प्रयोगशालाले एमसीसीको रु छ अर्ब ३८ करोड अनुदानमा कार्यान्वयन गर्न लागिएको सडक मर्मत आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

उद्घाटन कार्यक्रममा सडक विभागका महानिर्देशक सापकोटाले एमसीसीबाट प्राप्त सहयोगलाई नेपालको सडकको गुणस्तर सुधारमा प्रयोग गर्न पाएको खुसी व्यक्त गर्नुभयो ।

यसैगरी युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि एमसीसीका नायब उपाध्यक्ष ब्रुक्सले भन्नुभयो, “नेपालसँगको एमसीसी साझेदारीले नेपाली जनताका लागि काम थालिसकेको छ । यी अत्याधुनिक प्रयोगशालाको उद्घाटन एमसीसी र नेपालबीचको साझेदारीका क्रममा एक महत्वपूर्ण कदम हो र यसले थप समृद्ध भविष्यतर्फको बाटो खोल्नेछ ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले सडक मर्मतका लागि पहिलोपटक प्रयोग गर्न लागिएका नयाँ प्रविधि नेपालको सडक मर्मतसम्बन्धी अभ्यासका सन्दर्भमा नयाँ फड्को हुने विश्वास व्यक्त गर्नुभयो ।

सो प्रयोगशालाको निर्माण तथा प्रयोगशालासम्बन्धी उपकरणको हस्तान्तरण कार्य सरकार तथा एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्ट सम्झौताअन्तर्गत सडक मर्मत आयोजनाले उपलब्ध गराउने प्राविधिक सहयोगको एक महत्वपूर्ण अंश हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार