काठमाडौँ, बैशाख । स्थानीय तह निर्बाचनमा आजदेखि उमेद्वार मनोनयन सुरू भएको छ । निर्बाचन आयोगले बैशाख ११ र १२ गते मनोनयनको तिथी तोकोको छ । नेपाली कांग्रेसले भने महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ ।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि उम्मेदवारबारे छलफल थाले पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति हुनसकेको छैन ।
आज, आइतबार, देशभरि बिहान १० बजेबाट उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । नेताहरूले महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार नै छानेका छैनन् ।
सहमहामन्त्री जीवन परियारले सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ९ बजेपछि उम्मेदवारबारे छलफल गर्न बैठक जारी रहेको सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
‘छलफल भइरहेको छ, तर कुनै सहमति भएको छैन,’ उनले भने, ‘आजको बैठकले टुंगो लगाउने तयारी छ ।’
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आइतबारै घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । दिउँसो १ बजे सानेपास्थित कार्यालयबाटै घोषणा पत्र सार्वजनिक गर्न लागिएको घोषणा पत्र तयारी समितिका एक सदस्यले बताए ।