दमौली, वैशाख । स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ।
काँग्रेस तनहुँको आज बसेको बैठकले गत निर्वाचनमा काँग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्नसक्ने निष्कर्ष निकालेको हो।
काँग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने पनि बैठकले निष्कर्ष निकालेको छ। “काँग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मताभरका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो”, जिल्ला सचिव लक्ष्मीभक्त खनालले सञ्चारकर्मीलाई भने।
सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए। गठबन्धनको बैठक आइतबार पुनः बस्दै छ।
विसं २०७४ को स्थानीय निर्वाचनमा काँग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो।